
प्रकाशकीय
बाल उदयको पहिलो अंक तपाईंको हातमा छ ।

सिकाइ संस्कृति विकासका लागि बालपत्रिका भन्ने मूल मर्म आत्मसात गदै यो प्रकाशन भएको हो । ८ देखि १६ वर्षसम्मका साथीहरुसँगै काम गर्ने हाम्रो मनसाय छ । काम गर्नु भनेको अनुभव हासिल गर्नु हो । अनुभवी हुनु भनेको नै केही नयाँ कुरा सिक्नु हो । सिक्ने र सिकाउने अभियान चलाउनु नै हाम्रो उद्देश्य हो ।
साथीहरु, तपाईंहरुको अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हो ‘बाल उदय’ । आफ्ना अनुभव अरुका लागि र स्वयम्कै लागि पनि उपयोगी हुन्छ । बाल उदय पढ्दा बालबालिकाका कुरा सुन्न पाइन्छ भन्ने होस् । यसर्थ साथीहरुको भरपूर सहभागिता होस् भन्ने पक्षमा हाम्रो जोड छ । हामी भन्छौं, अनुभव गरौं र सिकौं ।
भन्छौं, सुनौं सुनाऔं । पढौं पढाऔं । लेखौं लेखाऔं । किताबहरु पढौं । चित्र बनाऔं । गीत कविता कथा लेखौं । अनुभव लेखौं । नाटक प्रदर्शन गरौं । फिल्म पनि हेरौं । सामाजिक काम गरौं । घरको काममा सहयोग गरौं । आफैं गर्न सकिने आफ्ना काम आफैं गरौं । काम गरेर हामी साना हुँदैनौं । कामले सानो ठूलो पनि हुने होइन । कामले त अनुभव गर्ने र सिक्ने अवसर दिन्छ ।
हरेक अंकमा हामी एक जना बालप्रतिभाको कथा लेख्छौं । प्रेरणादायी कथाहरू छाप्छौं । अभिभावक र छोराछोरी मिलेर गरिएका सामाजिक हितका योजना खोजेर त्यस्तो कार्य गर्नगराउन प्रोत्साहन दिने प्रयास गर्छौं । बालबालिकाका मनपर्ने र मननपर्ने कुरा के हो र किन हो भन्ने कुरा राख्छौं । बालविचारलाई विशेष स्थान दिन्छौं । बालअधिकारका पक्षमा काम गरिरहेका बालबालिकासँग कुराकानी गर्छौं ।
महिना विशेष रुपमा मनाइने स्थानीय चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, हाम्रै संस्कृति बारे बालबालिकाका अनुभव हरेक अंकमा समेट्छौं । बालबालिका साथीहरुले पढ्नुपर्ने किताब, हेर्नुपर्ने फिल्म, गर्नुपर्ने प्रयोग, आफैंले गर्नुपर्ने काम बारे सामग्री प्रस्तुत गर्छौं । बालबालिकाले रचना गरेका कथा, कविता, निबन्ध, नाटक, चित्र, फोटो आदि नियमित रुपमा प्रकाशन गर्छौं ।
बालबालिकाको क्षेत्रमा योगदान पु¥याएका संघसंस्था, स्थानीय सरकार र स्कूलहरुसँग सहकार्य गरी बालबालिकालाई प्रत्यक्ष हित हुने गरी काम गर्ने हाम्रो उद्देश्य छ । बालबालिकाको प्रत्यक्ष सहभागितामा सिर्जनात्मक सीप विकास कार्यशालाहरु सञ्चालन गर्नेछौं । बालबालिकाका लागि कार्यक्रम लिएर स्कूलस्कूलमा जानेछौं । सिकाइ अभियान लिएर बाल उदयको टोली जिल्लाजिल्लामा पुग्नेछ । बालबालिकासँग भएका ताजा सपना, विकासको परिकल्पना र सिर्जना खोज्ने हाम्रो अभिलाषा छ ।
यस पत्रिकामा कुनै पनि प्रतियोगितात्मक स्तम्भ छैन । कुनै पनि काम अरुलाई जित्नका लागि गर्ने होइन । स्वयम्लाई नै पहिलेको भन्दा अब्बल बनाउन सक्नु पो जीत हो । अर्को कुरा, कुनै स्तम्भमा सहभागी हुनुभएका सयौंमध्ये एक दुई जनालाई पुरस्कृत गरेर बाँकी साथीहरुको मेहनतलाई अवमूल्यन गर्न हामीलाई उचित लागेन । बाल उदयमा सहभागी हुन चाहने सबैका लागि बराबर स्थान खाली छ । सबै सहयात्रीलाई उपहारको व्यवस्था गरेका छौं ।
यस पत्रिकामा बालबालिकालाई नकारात्मक असर पुग्ने खालका विज्ञापन प्रकाशन गरिंदैन । त्यसैले पनि पत्रिकाको दीर्घजीवनका लागि पाठकको साथ सहयोग र माया हामीलाई सदैव अपरिहार्य छ । कुनै सुझाव, प्रतिक्रिया भए ढुक्कले लेखी हाम्रो ठेगानामा पठाउनुहोस् । हामी छाप्छौं । केही न केही नयाँ काम गर्नुस् । आफ्नै काम बारे लेख्नुहोस् । यो तपाईंहरूको आफ्नै पत्रिका हो । कुनै दिन तपाईं नै यस पत्रिका प्रकाशनको जिम्मेवार व्यक्ति बन्न पनि सक्नुहुनेछ ।
उत्साहित रुपमा सिर्जना गर्नुहुने बालबालिका साथीहरु, लेखक, शिक्षक, स्तम्भकार, चित्रकार, प्रतिनिधि, कर्मचारी, सदस्य, विज्ञापनदाता र शुभचिन्तक सबैले दर्शाउनुभएको सहयोग र साथका लागि धन्यवाद ज्ञापन गर्दछौं । साथै, बाल उदयको डिजिटल सदस्यताका लागि विशेष अनुरोध गर्दछौं ।