
बाल उदय एप सार्वजनिक
काठमाडौं/बाल उदय मासिक बालपत्रिका डिजिटल माध्यमबाट पनि प्रकाशन हुने भएको छ । ‘बाल उदय‘ नामक एक अन्तरक्रियात्मक मोबाइल एप्लिकेसनमार्फत बाल उदय पढ्न पाइने भएको हो ।
गत वैशाख ३१ गते शुक्रबार एक भर्चुअल कार्यक्रमका बीच ‘नायिका सुरक्षा पन्तसँग बालबालिकाका कुरा’ शीर्षकमा छलफल कार्यक्रम गर्दै उक्त एप्लिकेसन सार्वजनिक गर्न लागिएको सम्पादक एवम् प्रकाशक नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए ।
सिकाइ अभियान अन्तरगत स्कूलहरुमा विभिन्न कार्यशालाहरु आयोजना गर्दै अगाडि बढिरहेको बालपत्रिका कोविड १९ को प्रत्यक्ष मारसँगै प्रकाशन रोकिएको थियो । कोविड असरपछि बालकिताबको प्रवर्द्धनमा जोड दिएर अग्रसर भइरहेको बाल उदयको यो डिजिटल यात्रा कोविड १९ कै कारण आवश्यक लागेर पनि थालनी गरिएको तर डिजिटल रुपमा बालबालिकाको क्षेत्रमा केही गर्ने सपना पहिलेदेखिकै भएको सेलएपका सिइओ मनोज भट्टराईले बताए ।
पत्रिका प्रकाशन नहुने होकि भन्ने सवाल उठिरहेको सन्दर्भमा डिजिटल स्वरुपमा पत्रिका पढ्न पाउने अवस्था सिर्जना गर्न बाल उदयले डिजिटल पार्टनर सेलएपसँग लामो समयदेखि निरन्तर काम गरिरहेको थियो ।
एप्लिकेसनमार्फत् बालबालिकाले आफैँ स्वस्थ बन्न, विज्ञान एवम् प्रविधिको क्षेत्रमा अगाडि बढ्न र ज्ञान, चेतना साथै सीप अभिवृद्धि गर्न अवसर पाउनेछन् । नगरकोटी भन्छन्, ‘यो सिक्ने र सिकाउने डिजिटल अभियान हो । तर, प्रिन्ट अभियान पनि रोकिने छैन ।’
यस एप्लिकेसनमा बालबालिकालाई विशेष स्थान दिँदै रोचक, रमाइला, रुचिकर लेखहरु साथै पढ्ने, रमाउने र उपयोगी खेलहरु समावेश गरिएका छन् । हरेक अंकमा समावेश गर्दै आएका बालप्रतिभाको कथा, प्रेरणादायी कथाहरू, बालबालिकाका मनपर्ने र मननपर्ने कुरा, बालविचार, बालबालिकासँग कुराकानी, स्थानीय चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, हाम्रै संस्कृति बारे बालबालिकाका अनुभव, बालबालिका साथीहरुले पढ्नुपर्ने किताब, हेर्नुपर्ने फिल्म, गर्नुपर्ने प्रयोग, आफैंले गर्नुपर्ने काम बारे सामाग्री, कथा, कविता, निबन्ध, नाटक, चित्र, फोटो आदिका साथै थप रोचक, ज्ञानवद्र्धक र उपयोगी फिचरहरु रहेको बताइएको छ ।
बालबालिकाका लागि सिकाइ यात्राको समयसापेक्ष पूरक सामाग्रीका रुपमा आएको डिजिटल बाल उदय बालबालिकाका अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हुनेछ । एप्लिकेसनबाटै सदस्य बन्न मिल्ने र डिजिटल रुपमै सदस्यता शुल्क तिर्न मिल्ने व्यवस्था पनि गरिएको छ । साथै, किताबहरु अर्डर गर्न मिल्ने र पाठ्यक्रमको उद्देश्य पूरा गर्ने सवालमा पनि एप्लिकेसनमार्फत केही प्रयत्न गरिएको जानकारी दिइएको छ ।
सिकाइ संस्कृति विकासका लागि बाल पत्रिका भन्ने मूल मर्मका साथ ‘बाल उदय’ मासिक बालपत्रिका प्रकाशनमा आएको थियो ।
बाल उदय अब विश्वको जुनसुकै कुनाबाट जतिसुकै बेला पढ्न सकिनेछ । त्यसका लागि बाल उदयको मोबाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । एप्लिेकेसन गुगल प्लेस्टोर र एपस्टोर दुवैबाट डाउनलोड गर्न मिल्नेछ ।