
वातावरण दिवसमा जनचेतनामूलक नाटक
हेटौंडा / नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले बालबालिकाहरूको सचेतनामूलक नाटक प्रस्तुतिसँगै विश्व वातावरण दिवस अर्थात् जुन ५ को दिन वातावरण सप्ताहको समापन गरेको छ ।
नाटकमा वातावरण प्रदूषण र न्यूनीकरणका उपायलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको थियो । साथै, उहाँहरूले वातावरण सम्बन्धी नृत्य तथा गीत पनि प्रस्तुत गर्नुभएको थियो ।

विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरी बस्तीपुर चोक, हटियामा रहेको जनप्रिय उच्च मावि र हेटौंडाको बुद्धचोकमा विविध सांस्कृतिक कार्यक्रम गर्नुका साथै बालबालिकाले वातावरण सम्बन्धी चित्र पनि बनाउनुभएको थियो ।
विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालय कक्षा ४ का विद्यार्थीहरूले मानसचोक, सङ्गमचोक, सानोपोखरा र मनकामना चोकमा वातावरण पुलिस कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कक्षा ३ का विद्यार्थीहरूले -याली निकाल्नुका साथै पशुपति मन्दिर सरसफाई गर्नुभयो ।

वातावरण दिवसको अवसरमा भएको मोवाइल फोटोग्राफी प्रतियोगितामा प्रहस्थ खड्का प्रथम, दृष्टि प्रधान द्वितीय र इप्सा लामिछाने तृतीय हुनुभएको थियो । प्रतियोगितामा ९६ जना विद्यार्थीले सहभागिता जनाउनुभएको थियो ।