Category: ब्लग

३१ जेष्ठ २०७८, सोमबार ०९:४३ by Baal Udaya 0 Comments

सरकार, स्कुल र भर्चुअल कक्षाबाट बेखबर बालबालिकाको नाममा

नरेन्द्रकुमार नगरकोटी

प्रविधिको घाम नपुगेको ठाउँबाट
सोलुकी तेजिना बस्नेतले लकडाउन अनुभूति लेखिन् । स्कुलको नेपाली कापीमा डटपेनले । उनलाई यो कुरा अरुमाझ सुनाउन मन लाग्यो । तर उनको पहुँचमा इन्टरनेट छैन, मिडिया छैन । उनलाई सहायता गर्नसक्नेहरु सम्पर्कमा छैनन् । उनीसँग फोन छ, कुनै समय उनलाई फोन गर्ने काठमाडौं बस्ने एक मिडियाकर्मीलाई कल ब्याक गरिन् । भनिन्, ‘सर मैले एउटा लेख लेखेको छु । हजुरलाई पठाउन चाहन्छु ।’
यताबाट प्रश्न गयो, ‘हजुर तपाईंको फेसबुक आइडी छ ?’
तेजिना फेसबुक चलाउँदिनन् । उनी आफ्नो फेसबुक चलाउने उमेर नपुगेको बताउँछिन् । बल्लतल्ल कुराकानीसम्म गर्न मिल्ने टेलिकमको नेटकर्वबाट उनकोमा यो सम्भव छैन पनि ।
आफ्नो कुरा तेजिनाले भनिन् र तत्काल उनले सम्झिन्, ‘दाइ घरमा हुनुहुन्छ । उहाँको भाइबर छ । त्यसबाट सजिलो हुन्छ होला ।’ इमेल गर्ने विषयमा उनी जान्दछिन् या जान्दिनन् ? प्रश्नमै सीमित छ ।
‘सर हजुरको भाइबर छ ?’ तेजिनाले प्रश्न गरिन् ।
यताबाट भाइबर नभएको जानकारी गयो ।
पक्कै पनि उनको मुहारमा अँध्यारो छायो होला ।
कथाले २ दिन समय बिताएपछि एउटा फेसबुक आइडीबाट उनको तीन पाना हस्ताक्षरको फोटो आयो काठमाडौं । अब काठमाडौं त्यहाँ कसरी पुग्छ ? उनको लेखन काठमाडौं कसरी कुन दुक्खले आइपुग्यो ? यी प्रश्नका मर्मस्पर्शी कथा तपाईं आफै अनुमान लगाउँनुहोला ।


स्वअध्ययन एक विकल्प

हेटौंकाकी नलिना बानियाँ एसईई परीक्षा २०७७ मा सहभागी हुन तयार थिइन् । कोरोना संक्रमणका कारण नेपाल सरकारले लकडाउन घोषणा गर्नु अगावै सो परीक्षा स्थगित भयो । परीक्षा कहिले सञ्चालन हुन्छ ? यस प्रश्नको जवाफ कसैसँग थिएन । त्यसै सन्दर्भमा नलिनाको विचार यस्तो थियोः
अनलाइन कक्षा व्यवस्थापन सबैले गर्न सक्छन् या सक्दैनन् भन्ने पक्ष महत्वपूर्ण हो । इन्टरनेट हैन कतिपय ठाउँमा विजुलीको समस्या छ ।
लकडाउनमा घरमै बसेर पनि धेरै कुरा सिक्न सकिन्छ । विभिन्न किताब पढ्न सकिन्छ । यसलाई अवसरको रुपमा लिएर ज्ञानको धरातल फराकिलो बनाउन सकिन्छ । नेपालजस्तो विकासशील देशलाई भने अझै समस्या छ । घरघरमा सरकारले खाद्यान्न पु¥याउन सक्दैन । जनता भोकै मर्ने समस्या हुनसक्छ । राष्ट्रियताको भजन गाएर मात्र राष्ट्रभक्त बन्न खोज्ने नेतृत्व भयो भने जनतालाई मार्न सक्छन् ।
विभिन्न किताब पढ्छु । एसईईको नमुना प्रश्नहरु अभ्यास गर्छु, यूट्युब हेरेर । हामी एसईई परीक्षार्थी भएको हुँदा अनलाइन कक्षा भएको छैन । नहोस् पनि भन्छु म त । कोरोना कहर छिट्टै हटोस् यो तनाव भन्दा त । त्यै नि अनलाइनमा प्रभावकारी नै हुन्न ।
कक्षामा प्रत्यक्ष रुपमा सिक्दा त कठिन हुन्थ्यो, ‘प्राक्टिकल्ली’ सिक्नुपर्ने कतिपय विषय ‘लेक्चर’ दिएर सबैले बुझिन्न नि ।
विभिन्न टेलिभिजन च्यानलबाट आएका कक्षाहरु पनि मैले एटेन्ड गरेको छु । त्यो पनि इफेक्टिव पाएको छैन मैले चाहिँ । रेडियोमा चाहिँ कहिलेकाहीँ कान जान्छ । भाषाको कारण पनि कतिपय कुरा बुझिन्न । त्यसैले, स्वध्ययन नै एकदम उपयुक्त उपाय हो । केही समस्या आए शिक्षकलाई सोध्ने वातावरण बन्यो भने राम्रो हुन्छ । अनलाइनबाट उत्कृष्ट सामाग्री खोजेर स्वअध्ययन गर्ने नै राम्रो हो भन्ने लाग्छ मलाई चाहिँ ।
अन्यौल छ र पनि आनन्दसँग सिकिरहेको छु ।
नलिनाको कुरा यस्तो छ ।
देशमा नलिनाहरु एकदम थोरै छन् ।


अनलाइन कक्षाको कथा
यो भक्तपुरको कथा हो ।
सपना श्रेष्ठको अनलाइन कक्षा सुरु भएको बैशाख १ बाटै हो । सपना र साथीहरु मिलेर कलेजलाई भनेपछि मात्र कक्षा व्यवस्थापन भएको हो । विश्वविद्यालयले त पछि निर्णय गरेको थियो । विश्वविद्यालयले विद्यार्थीको नेतृत्व लिन सक्दैन भन्ने यहीँबाट प्रष्ट देखिन्छ ।
अनलाइन कक्षाको आफ्नै दुःखद कथा छ । सपना कथा सुनाउँछिन्ः
कक्षा सञ्चालन भइरहँदा बत्तिको लाइन नै जान्छ । बिच्चबिच्चमा कक्षामा पुग्दा के विषयमा कक्षा चलिरहको हो भन्ने नै अन्यौल हुन्छ ।
यता अनलाइन कक्षा सुरु हुन्छ उता भान्छामा काम गर्न ढिला हुन्छ । अर्को के काम वितिरा हुन्छ । घरमा बसेसी केही न केही कामको अपेक्षा सबैबाट हुन्छ । आफूलाई पनि जिम्मेवारी बोध हुन्छ । घरबाट अनलाइन कक्षा सकिने काम होइन । फेरि घरबाहिरको आवाज र घरभित्रकै कुराकानीले पनि ध्यान दिएर अध्ययन गर्न पाइन्न ।
मलाई अनलाइन कक्षा प्रभावकारी हुन्छ भन्नेमा विश्वास लाग्न छाडेको छ । प्रत्यक्ष कक्षामा हुँदा त ध्यानपूर्वक विषयमा केन्द्रित हुन समस्या हुन्थ्यो । घरमा त ध्यान भङ्ग गर्न धेरै तत्व सक्रिय रहन्छन् ।
अनलाइन कक्षामा बसिरहँदा घरकै सदस्यले टिकटक बनाइरहेको देखेका छौं । खाजा ल्याइदिने, खाना खान बोलाउने यस्तो पनि पाइएको छ ।
भाइबहिनीका स्कुलले भने एसईई लक्षित अनलाइन कक्षा मात्र सञ्चालन गरेको छ । अन्य कक्षा बारे केही प्रयास गरेको जानकारी छैन ।
‘मेरो परीक्षा आएको छ र मैले पढ्नु ? मलाई पढ्नै मन लाग्दैन । एक्जाम आएसी मात्र पढ्ने हो । अहिले त बल्ल स्कुलको क्लास सकिएको छ । आनन्दले बस्न दिनूस् न हामीलाई ।’ कोर्सबाहेकको किताब पढ्न सुझाउँदा भाइबहिनीले त यसो भने ।
उनीहरु आफ्ना साथीहरुलाई मिस् गर्छन् । साथीहरुसँगको पल विर्सन्नन् तर पढाइ र अध्ययन भन्ने कुरामा मन गएको पाइन्न ।
किताबप्रतिको प्रेमलाई कसरी ध्वस्त पारिदिएका छौं हामीले पढाइको बोझ थोपरेर । त्यसको एक दृष्टान्त हो यो ।
भइरहेको यस्तो छ भने, अनलाइन कक्षाको सपना पनि देख्न नपाउनेहरुको कथा कस्तो छ त ?

अनलाइन कक्षाको सपना पनि देख्न नपाउनेहरुको कथा
अनलाइन कक्षा नभएका ठाउँमा न शिक्षकहरुलाई केही सुचना वा जानकारी छ न बालबालिकाको बारेमा कसैको चासो चिन्ता । मौनता छ यस विषयमा ।
घरको जिम्मेवारी र परिवारको विषयमा भाइबहिनीले सिक्न पाएका छन् भनेर सकारात्मक देखिनुभएको छ सोलुखुम्बुको सोताङ्मा शिक्षण जीवनमा रमाइरहनुभएका शिक्षक तुलसा बस्नेतः
अनलाइन वा दूर कक्षा कुनै पनि सम्भव छैन । सञ्चालन अभ्यास भएको पनि कतै पाइँदैन ।
गाउँका बालबालिकासँग भेटेर कुरा गर्छु । घरमा के काम गछौं ? कत्तिको पढ्छौ अचेल ? भनेर प्रश्न गर्छु । उनीहरु भन्छन्, नयाँ किताब छैन के पढ्नु ।
उनीहरुले खोजेको नयाँ किताब भनेको नयाँ शैक्षिक सत्रमा पाइने सरकारी पाठ्यपुस्तक हो । किताब पाएको भए पढ्ने थियौं भनेर अभिलाषा प्रकट गर्ने यीनै बालबालिकालाई हैन त हामीले केटाकेटी पढ्नै छाडे भनेर आरोप लगाएको ? उनीहरुलाई नयाँपनको खोजी छ ।
अनलाइन कक्षाबारे सोच्ने अवस्था यस्तै भुगोलमा धेरैतिर छैन ।
गाउँघरमा समय व्यवस्थापन गर्न पनि मुस्किल छ । घरमा धेरै काम गर्नुपर्ने हुन्छ बालबालिकाले पनि । काममा नै व्यस्त हुन्छन् सबै जना । गाइवस्तु खेतीपाती । अभिभावकले पनि समय मिलाइदिन सहजीकरण गर्नुहुन्न । बुझ्नुहुनेले पनि समय तालिका मिलाउन नै सक्दैनन् गाउँमा । त्यसो त स्कुले पढाइका लागि चासो पनि दिनुहुन्न । चासो दिनेले सक्नुहुन्न पनि, आर्थिक अवस्था र प्राविधिक स्रोत एवम् ज्ञानमा पछि परेका कारण ।
आज त घरमा बस्ने भए, घरको काम गर्छन् भन्ने नै सोच सत्य छ यताका लागि । स्कुल बिदा हुँदा हाम्रै बुबा आमा पनि खुसी हुनुहुन्छ, आज चाहिँ काम गर्छन् भनेर । उहाँहरु नै प्रतिनिधि त हुनुहुन्छ ।
बजारतिरका बालबालिका भने खेलेर दिन कटाउँछन । किसानका छोराछोरीलाई नै हो अधिक कठिनाइ चाहिँ ।
बजार आसपासमा र घरमा टेलिभिजन हुनेले मात्र केही सुविधा लिएका हुनसक्छन् । एसईईको लागि मात्र हो त्यो पनि । प्रभाव कति छ भन्ने कुराको प्रमाण यही हो । कसैलाई थाहा पत्तोसम्म छैन ।
कत्तिको घरमा टिभी हुन्न । फोन हुन्न । फोन नटिप्ने, बल्लबल्ल टिप्ने भुभाग धेरैतिर छ । मोबाइलबाट नेट चलाउन अत्यधिक खर्चिलो हुन्छ । त्यै पनि चल्दैन, बफरिङ भइरहन्छ ।
नेपाल टेलिकमले स्कुलमा जडान गरिदिएको नेट आजसम्म चलेको छैन । एक दुइ घरले पनि जडान गरेको, अलिअलि मात्र चलेको जानकारी आएको छ । निजी केही कम्पनीले जडान गरिदिने नेट धान्न सकिन्न ।
स्कुल कुन दिनदेखि खुल्छ मिस ? यो अनुत्तरित प्रश्न सुन्छु । निरास छन् उनीहरु, उनीहरुसँगै म पनि अन्यौलमा छु ।
काम गर्छन्, खेल्छन्, जङ्गल डुल्छन् । एउटा अन्यौल बाँचिरहेछन् उनीहरु । अनिश्चित छ भविष्य, केपछि के गर्ने भन्ने नै भएन । सिकेका कुरा पनि भुल्ने हुन् कि ?
खेतीकिसानीमा खटेका छन् किसानका छोराछोरी चाहिँ । औपचारिक मान्यता नहुने ज्ञान, सीप हासिल गरिरहेका छन् । कामबाट नै हो सिक्ने, केही न केही त जरुर सिकेका हुन्छन् नि ।
केटाकेटीलाई स्कुल रमाइलो लाग्छ । घरमा मात्र बसिरहँदा दिक्क मान्छन् । उनीहरु साथीभाइसँग रमाउँन चाहन्छन् । खेल्न पाइन्छ स्कुलमा । सफा चिटिक्क बनेर पढ्न सिक्न जान पाइन्छ स्कुलमा । समुहमा बसेर सिक्न मज्जा हुन्छ । पढ्न मात्र स्कुल जाने होइनन् नि ।
स्कुल जानु हाम्रा लागि पनि रुचिपूर्ण नै हुन्छ नि ।
स्कुल चलेको दिनमा काम गर्न, खेल्न, पढ्न सबै कामको समय तालिकाले काम गर्छ । अचेल समयतालिका मिलेको पाइँदैन ।
घरजत्तिकै स्कुल जीवन पनि प्यारो लाग्छ र त उनीहरु दिनहुँ स्कुल आउँछन् । केही बाध्यात्मक र बाधाहरुको कुरा यहाँ नगरौं ।
अब स्कुल र निरन्तरको औपचारिक शिक्षामा आकर्षण गराउन समय लाग्नेछ ।


आफ्नै धूनमा स्कुले बालबालिका
काठमाडौबाट नजिकै सिन्धुलीका बालबालिकाहरु आफ्नै धूनमा छन् ।
सिन्धुलीकै शिक्षक सरस्वती श्रेष्ठले अनुभूत गर्नुभएको बालबालिकाको धून यस्तो छः
यता कतिपय भागमा घाम नलागेसम्म एन्टिसीको नेटवर्क हुँदैन । कतिपय बाआमालाई मोबाइल पनि चलाउन आउँदैन । धेरै अभिभावकको आर्थिक अवस्था कमजोर छ । केटाकेटीहरु स्कुल जान नपर्दा उस्तो दुःखी छैनन् ।
दिनभरि खेल्न पाउँछन्, यसमै रमाइरहेका छन् ।
टिभी त कसले हेर्नु र ? सिनेमा हेर्ने, खेल्न दगुर्न जाने यस्तैमा मस्त छन् उनीहरु ।
अनलाइन कक्षा व्यवस्थापन गर्न चाहे पनि सबैका लागि सम्भव नै छैन । कतिपयलाई स्कुल खुल्नु नै शिक्षाको एकमात्र ढुक्क अवस्था हो । आफुहरुको संलग्नता शिक्षामा आवश्यक नठान्ने मानसिकता पनि एउटा कारक छ । लोडसेडिङ्को समस्या हटे पनि बत्ती जाने समस्या हटेको छैन ।
अनलाइन कक्षाका लागि मोबाइल फोनसम्म नबोक्ने अभिभावकका लागि सोच्नुपर्दैन ?
एसईई दिने केटाकेटीहरु जाँच दिनु नि परेन भनेर ढुक्क छन् ।
प्रायः केटाकेटी चाहिँ सिमी टिप्ने, मकै गोड्ने, बाख्रा चराउन जाने काम गरिरहेका छन् । घरका अरु काम पनि गर्छन् । केही चाहिँ खाने बस्नेमै बरालिएका छन् ।
फेसबुकमा जोडिएकाहरु भन्छन्, ‘बस्ने खाने अनि कहिलेकाहीँ यसो किताब पनि हेरिन्छ । स्कुल नखुल्दा दिक्क लागेको छ । स्कुल खुल्ने दिन पर्खिराछु, स्कुल जान आतुर छु म ।’ संगिताको कुरा हो यो ।
अजिता भन्छिन्, ‘नराम्रो फिल भइराछ । घरमा बस्यो, घरकै काम ग¥यो । कहिले घाँस काट्न जान्छु । यस्तै छ ।’
प्रतिमा चाहिँ खासै काम गर्दिनन् । स्कुल नखुल्दाको नमज्जा मात्र छ उनलाई ।
अनिशाको भाइ पूराना किताबहरु पढ्छन् । नयाँ किताब पनि आइपुगेको छ । अभ्यास गर्दै गराउँदै छन् । अनिशा पनि पढ्ने र नजिकिएको स्थगित परीक्षा तयारी गदैछिन् ।
राजीन भने खेतमा खटेका छन् । भन्छन्, ‘तरकारी फलाउन थालिसकेको छु । स्कुल नखुल्दा रमाइलो भएको छ । खेतीपातीले व्यस्त बनाएको छ ।’
यूनिशले न केही काम गरेका छन् न केही सिकेका नै । ‘स्कुल खुले रमाइलो हुन्थ्यो’, उनलाई यत्ति थाहा छ । साथीहरुलाई मिस गर्दैछन् । उनी भन्छन् ‘मुभि हेर्दै मोबाइल चलाउँदै यत्तिकै बस्छु दिन वित्छ ।’


प्रयत्न कस्तो छ त ?
एकजना प्रधानाध्यापक रेडियोमा बोलिरहेको पाएँ । आफ्नो विषयमा बालबालिकाका लागि । रेडियो कक्षा थियो त्यो ।
एक दिन फेसबुक मेसेन्जरमा सोधेँ, तपाईंको स्कुल र पालिकाको योजना के छ अनलाइन कक्षा र दूर शिक्षा बारे ?
उनले जवाफमा लेखे, ‘हामी बालबालिका र अभिभावकसँग सम्पर्कमा रहने प्रयासमा छौं । फोन नै अहिलेको उपयुक्त माध्यम हो । हामीले पाठ्यपुस्तक लिइसकेका छौं, लकडाउनको मान्यता उल्लंघन नगर्ने गरी वितरण गर्दैछौं । एस्ईईमा सहभागी हुन तयारी गरिरहेका केटाकेटीका लागि विषयगत रुपमा मेसेन्जर ग्रुप बनाएर सहजीकरण गरिरहेका छौं ।’ (हालै सरकारले एसईई परीक्षा सञ्चालन नहुने निर्णय गरेको छ ।)
पालिकाले केही ठोस योजना गरिरहेको होला भन्ने पनि उहाँलाई लागेको रहेछ ।
फेसबुक मेसेन्जर ग्रुप बनाएर कक्षा सञ्चालन गर्न खोज्दा भोगेका केही दुःख सामाजिक सञ्जालमा पोखिएपछि साक्षी भावले मैले पनि पढेको थिएँ । अनि सरलाई सोधेँ, ‘मेसेन्जर ग्रुपबाट सबैसँग सहज सम्पर्क सम्भव भएको छ त सर ?’
४ जना विद्यार्थी सम्पर्कमा नभएको जानकारी आयो । ‘किन होला ?’ मैले सोधेँ ।
‘सम्पर्कमा आउन सम्भव हुने डिभाइस छैन होला उनीहरुसँग ।’ यस्तो उत्तर सुनेँ मैले ।
के यस्तो पनि सहजै स्वीकार्न मिल्छ ? केही केटाकेटी बञ्चित हुँदा पनि नियमित कक्षा सञ्चालन भएकोमा गर्व गर्न सकिएला त ? के यो अन्याय होइन ?

twitter: @nk_nagarkoti

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>