Category: गृहपृष्ठ

२७ जेष्ठ २०७९, शुक्रबार ०६:१८ by Baal Udaya 0 Comments

हेटौँडामा राष्ट्रिय बालसाहित्य उत्सव हुने


हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपालले शनिबार हेटौँडामा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको तयारी पूरा भएको संस्थाका अध्यक्ष प्रसन्ना चौलागाईँले बताउनुभएको छ ।

नवसर्जक साहित्य चौतारी नेपाल स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका लागि शुक्रबार दिउँसोसम्म जिल्लाबाहिरबाट करिब ५० जना पाहुना हेटौँडा आइपुग्ने र हेटौँडाका साहित्यकार, साहित्यानुरागी, शिक्षक एवम् विद्यार्थी गरी करिब ३०० जनाको उपस्थितिमा कार्यक्रम हुने बताइएको छ ।

उत्सवको अवसरमा सात प्रदेशबाट एक एक जना बालप्रतिभालाई नवसर्जक सम्मानबाट सम्मानित गरिने कार्यक्रम छ । प्रदेश १ बाट झापाकी अन्वेषा चापागाईँ, मधेस प्रदेशबाट बाराका अभिजित राम, वाग्मती प्रदेशबाट भक्तपुरकी अनुज्ञा नेपाल, गण्डकी प्रदेशबाट पोखराका अनुराग सापकोटा, लुम्बिनी प्रदेशबाट कपिलवस्तुका पवन अधिकारी, कर्णाली प्रदेशबाट दैलेखका नवीन पाण्डे र सुदूरपश्चिम प्रदेशबाट कैलालीकी ऋष्टिना करियाप्रधान थारु सम्मानित हुँदै हुनुहुन्छ । उक्त पुरस्कार क्रमशः रुबिना शर्मा, रमेशमोहन अधिकारी, जयन्ती आचार्य, अर्चना दाहाल, डिबी बर्ताैला, प्रभा पौडेल र पुश्कल नेपालले सौजन्य गर्नुभएको हो ।

उत्सवका अवसरमा अग्रज बालसाहित्य सर्जक एवम् अन्वेषक प्रमोद प्रधानलाई नगद रु. १५ हजार ५ सय ५५ राशिको ‘लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९’ प्रदान गरिने छ । उक्त पुरस्कारको स्थापना विष्णु न्यौपानेले गर्नुभएको हो ।

हेटौँडा स्कुल अफ म्यानेजमेन्टले मुख्य प्रायोजकका रूपमा नगद रु. १ लाख, सहकार्य गर्ने संस्थाका रूपमा प्याब्सन मकवानपुर र हेटौँडा नगर समितिले रु. ५० हजार बराबरको सहयोग गर्ने चौतारीका संरक्षक दीपक गौतमले बताउनुभयो । त्यस्तै हेटौँडाका सबै संस्थागत (निजी) विद्यालय तथा पुस्तक व्यवसायीहरूले कार्यक्रमका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजना हुने उत्सव उद्घाटन सत्र र रचना वाचन सत्र गरी दुई चरणमा हुने जानकारी आयोजकले दिएको छ ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>