Category: बालबालिका खबर

२९ फाल्गुन २०७८, आईतवार ०७:१६ by Baal Udaya 0 Comments

इन्टरनेशनल स्कूलमा कराँतेको ‘बेल्ट अप्ग्रेडिङ्’ कार्यक्रम सम्पन्न

काठमाडौँ / इन्टरनेशनल स्कूल, रातोपूलको कक्षा २, ३ र ४ मा अध्ययनरत बालबालिकाको कराँते ‘बेल्ट अप्ग्रेडिङ्’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नुभएको थियो । उहाँहरूलाई अभिभावकको उपस्थितिमा प्रमाणपत्र तथा बेल्ट हस्तान्तरण गरिएको हो ।


समारोहमा कक्षा २ का साम्राज्ञी भण्डारी, सरस दर्शनधारी, अभिक कृष्ण मल्ल, वैभवी राना, अपराजिता तिमिल्सिना, कक्षा ३ का आर्या कोइराला, अनुश्री राजकर्णिकार, अनिष्का श्रेष्ठ, साइश्री मिश्र, सेनेका कोइराला बस्नेत र कक्षा ४ का आरभ तिवारी, विमर्श रेग्मी, दर्शिता बगडिया, मेहल दाहाल, निधि श्रेष्ठ, सुशान्त बिमली, श्रीशान श्रेष्ठ, स्वीकृति सिंह ठकुरीलाई पहेँलो बेल्ट हस्तान्तरण गरिएको थियो ।


विद्यालयले प्रगतिशील शिक्षा पद्धति अपनाउँदै आएको र बालबालिकाको चौतर्फी विकास गराउँदै जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्य लिएर काम गरिरहेको विद्यालयका संस्थापक प्रिन्सिपल अनिरुद्र अर्यालले जानकारी गराउनुभयो । कराँते प्रशिक्षणका लागि सिफल खेलकुद प्रतिष्ठानले सहजीकरण गरिरहेको छ ।

४ फाल्गुन २०७८, बुधबार १०:२४ by Baal Udaya 0 Comments

नवोदयमा कफी हाउस

हेटौंडा । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सम्पन्न भएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत प्रत्येक बालबालिकाले आफैँले तयार पार्नुभएको सिर्जनात्मक पुस्तक उक्त कार्यक्रममा विमोचन गरिएको थियो ।

कार्यक्रममा विमोचित पुस्तकबाट उहाँहरूले एकएक सिर्जना आफ्ना अभिभावकसमक्ष प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पु-याउने विश्वासका साथ विद्यालयले विगत ५ वर्षदेखि कफी हाउस कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पठन संस्कृति एवम् भाषिक सिप विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नवोदय शिशु सदनका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी दिनुभयो ।

१८ माघ २०७८, मंगलवार ०८:५४ by Baal Udaya 0 Comments

नवोदय बाल क्लबको विशेष कार्यक्रम

हेटौंडा । नवोदय साहित्यिक बगैँचा बाल क्लबले सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना ग-यो । कार्यक्रम क्लबका अध्यक्ष अनुशा उप्रेतीको अध्यक्षता र सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

उक्त अवसरमा सहिदको योगदान सम्बन्धी ४ मिनेटको वृत्तचित्र प्रस्तुति, बहसका साथै कविता वाचन भएको थियो । बालज्योति माविका रियाज कार्की, जिएस निकेतनका आयुषजन विष्ट, ब्रह्मदिक एकेडेमीकी जेनिशा अधिकारी, अमर माविकी सुस्मिता ढुङ्गाना, जेनिथ इन्टरनेशनल स्कूलका सुभम खनाल, नवोदय शिशु सदनका सत्कार स्याङ्तान, सेरोन गिरी र प्रीतिका कार्कीले कविता वाचन गर्नुभएकाे थियाे ।

३१ जेष्ठ २०७८, सोमबार ०९:१८ by Baal Udaya 0 Comments

प्रकाशकीय

बाल उदयको पहिलो अंक तपाईंको हातमा छ ।

सिकाइ संस्कृति विकासका लागि बालपत्रिका भन्ने मूल मर्म आत्मसात गदै यो प्रकाशन भएको हो । ८ देखि १६ वर्षसम्मका साथीहरुसँगै काम गर्ने हाम्रो मनसाय छ । काम गर्नु भनेको अनुभव हासिल गर्नु हो । अनुभवी हुनु भनेको नै केही नयाँ कुरा सिक्नु हो । सिक्ने र सिकाउने अभियान चलाउनु नै हाम्रो उद्देश्य हो ।

साथीहरु, तपाईंहरुको अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हो ‘बाल उदय’ । आफ्ना अनुभव अरुका लागि र स्वयम्कै लागि पनि उपयोगी हुन्छ । बाल उदय पढ्दा बालबालिकाका कुरा सुन्न पाइन्छ भन्ने होस् । यसर्थ साथीहरुको भरपूर सहभागिता होस् भन्ने पक्षमा हाम्रो जोड छ । हामी भन्छौं, अनुभव गरौं र सिकौं ।

भन्छौं, सुनौं सुनाऔं । पढौं पढाऔं । लेखौं लेखाऔं । किताबहरु पढौं । चित्र बनाऔं । गीत कविता कथा लेखौं । अनुभव लेखौं । नाटक प्रदर्शन गरौं । फिल्म पनि हेरौं । सामाजिक काम गरौं । घरको काममा सहयोग गरौं । आफैं गर्न सकिने आफ्ना काम आफैं गरौं । काम गरेर हामी साना हुँदैनौं । कामले सानो ठूलो पनि हुने होइन । कामले त अनुभव गर्ने र सिक्ने अवसर दिन्छ ।

हरेक अंकमा हामी एक जना बालप्रतिभाको कथा लेख्छौं । प्रेरणादायी कथाहरू छाप्छौं । अभिभावक र छोराछोरी मिलेर गरिएका सामाजिक हितका योजना खोजेर त्यस्तो कार्य गर्नगराउन प्रोत्साहन दिने प्रयास गर्छौं । बालबालिकाका मनपर्ने र मननपर्ने कुरा के हो र किन हो भन्ने कुरा राख्छौं । बालविचारलाई विशेष स्थान दिन्छौं । बालअधिकारका पक्षमा काम गरिरहेका बालबालिकासँग कुराकानी गर्छौं ।

महिना विशेष रुपमा मनाइने स्थानीय चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, हाम्रै संस्कृति बारे बालबालिकाका अनुभव हरेक अंकमा समेट्छौं । बालबालिका साथीहरुले पढ्नुपर्ने किताब, हेर्नुपर्ने फिल्म, गर्नुपर्ने प्रयोग, आफैंले गर्नुपर्ने काम बारे सामग्री प्रस्तुत गर्छौं । बालबालिकाले रचना गरेका कथा, कविता, निबन्ध, नाटक, चित्र, फोटो आदि नियमित रुपमा प्रकाशन गर्छौं ।

बालबालिकाको क्षेत्रमा योगदान पु¥याएका संघसंस्था, स्थानीय सरकार र स्कूलहरुसँग सहकार्य गरी बालबालिकालाई प्रत्यक्ष हित हुने गरी काम गर्ने हाम्रो उद्देश्य छ । बालबालिकाको प्रत्यक्ष सहभागितामा सिर्जनात्मक सीप विकास कार्यशालाहरु सञ्चालन गर्नेछौं । बालबालिकाका लागि कार्यक्रम लिएर स्कूलस्कूलमा जानेछौं । सिकाइ अभियान लिएर बाल उदयको टोली जिल्लाजिल्लामा पुग्नेछ । बालबालिकासँग भएका ताजा सपना, विकासको परिकल्पना र सिर्जना खोज्ने हाम्रो अभिलाषा छ ।

यस पत्रिकामा कुनै पनि प्रतियोगितात्मक स्तम्भ छैन । कुनै पनि काम अरुलाई जित्नका लागि गर्ने होइन । स्वयम्लाई नै पहिलेको भन्दा अब्बल बनाउन सक्नु पो जीत हो । अर्को कुरा, कुनै स्तम्भमा सहभागी हुनुभएका सयौंमध्ये एक दुई जनालाई पुरस्कृत गरेर बाँकी साथीहरुको मेहनतलाई अवमूल्यन गर्न हामीलाई उचित लागेन । बाल उदयमा सहभागी हुन चाहने सबैका लागि बराबर स्थान खाली छ । सबै सहयात्रीलाई उपहारको व्यवस्था गरेका छौं ।

यस पत्रिकामा बालबालिकालाई नकारात्मक असर पुग्ने खालका विज्ञापन प्रकाशन गरिंदैन । त्यसैले पनि पत्रिकाको दीर्घजीवनका लागि पाठकको साथ सहयोग र माया हामीलाई सदैव अपरिहार्य छ । कुनै सुझाव, प्रतिक्रिया भए ढुक्कले लेखी हाम्रो ठेगानामा पठाउनुहोस् । हामी छाप्छौं । केही न केही नयाँ काम गर्नुस् । आफ्नै काम बारे लेख्नुहोस् । यो तपाईंहरूको आफ्नै पत्रिका हो । कुनै दिन तपाईं नै यस पत्रिका प्रकाशनको जिम्मेवार व्यक्ति बन्न पनि सक्नुहुनेछ ।

उत्साहित रुपमा सिर्जना गर्नुहुने बालबालिका साथीहरु, लेखक, शिक्षक, स्तम्भकार, चित्रकार, प्रतिनिधि, कर्मचारी, सदस्य, विज्ञापनदाता र शुभचिन्तक सबैले दर्शाउनुभएको सहयोग र साथका लागि धन्यवाद ज्ञापन गर्दछौं । साथै, बाल उदयको डिजिटल सदस्यताका लागि विशेष अनुरोध गर्दछौं ।

३१ जेष्ठ २०७८, सोमबार ०८:५८ by Baal Udaya 0 Comments

बाल उदय एप सार्वजनिक

काठमाडौं/बाल उदय मासिक बालपत्रिका डिजिटल माध्यमबाट पनि प्रकाशन हुने भएको छ । ‘बाल उदय‘ नामक एक अन्तरक्रियात्मक मोबाइल एप्लिकेसनमार्फत बाल उदय पढ्न पाइने भएको हो ।

गत वैशाख ३१ गते शुक्रबार एक भर्चुअल कार्यक्रमका बीच ‘नायिका सुरक्षा पन्तसँग बालबालिकाका कुरा’ शीर्षकमा छलफल कार्यक्रम गर्दै उक्त एप्लिकेसन सार्वजनिक गर्न लागिएको सम्पादक एवम् प्रकाशक नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए ।

सिकाइ अभियान अन्तरगत स्कूलहरुमा विभिन्न कार्यशालाहरु आयोजना गर्दै अगाडि बढिरहेको बालपत्रिका कोविड १९ को प्रत्यक्ष मारसँगै प्रकाशन रोकिएको थियो । कोविड असरपछि बालकिताबको प्रवर्द्धनमा जोड दिएर अग्रसर भइरहेको बाल उदयको यो डिजिटल यात्रा कोविड १९ कै कारण आवश्यक लागेर पनि थालनी गरिएको तर डिजिटल रुपमा बालबालिकाको क्षेत्रमा केही गर्ने सपना पहिलेदेखिकै भएको सेलएपका सिइओ मनोज भट्टराईले बताए ।

पत्रिका प्रकाशन नहुने होकि भन्ने सवाल उठिरहेको सन्दर्भमा डिजिटल स्वरुपमा पत्रिका पढ्न पाउने अवस्था सिर्जना गर्न बाल उदयले डिजिटल पार्टनर सेलएपसँग लामो समयदेखि निरन्तर काम गरिरहेको थियो ।


एप्लिकेसनमार्फत् बालबालिकाले आफैँ स्वस्थ बन्न, विज्ञान एवम् प्रविधिको क्षेत्रमा अगाडि बढ्न र ज्ञान, चेतना साथै सीप अभिवृद्धि गर्न अवसर पाउनेछन् । नगरकोटी भन्छन्, ‘यो सिक्ने र सिकाउने डिजिटल अभियान हो । तर, प्रिन्ट अभियान पनि रोकिने छैन ।’

यस एप्लिकेसनमा बालबालिकालाई विशेष स्थान दिँदै रोचक, रमाइला, रुचिकर लेखहरु साथै पढ्ने, रमाउने र उपयोगी खेलहरु समावेश गरिएका छन् । हरेक अंकमा समावेश गर्दै आएका बालप्रतिभाको कथा, प्रेरणादायी कथाहरू, बालबालिकाका मनपर्ने र मननपर्ने कुरा, बालविचार, बालबालिकासँग कुराकानी, स्थानीय चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, हाम्रै संस्कृति बारे बालबालिकाका अनुभव, बालबालिका साथीहरुले पढ्नुपर्ने किताब, हेर्नुपर्ने फिल्म, गर्नुपर्ने प्रयोग, आफैंले गर्नुपर्ने काम बारे सामाग्री, कथा, कविता, निबन्ध, नाटक, चित्र, फोटो आदिका साथै थप रोचक, ज्ञानवद्र्धक र उपयोगी फिचरहरु रहेको बताइएको छ ।

बालबालिकाका लागि सिकाइ यात्राको समयसापेक्ष पूरक सामाग्रीका रुपमा आएको डिजिटल बाल उदय बालबालिकाका अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हुनेछ । एप्लिकेसनबाटै सदस्य बन्न मिल्ने र डिजिटल रुपमै सदस्यता शुल्क तिर्न मिल्ने व्यवस्था पनि गरिएको छ । साथै, किताबहरु अर्डर गर्न मिल्ने र पाठ्यक्रमको उद्देश्य पूरा गर्ने सवालमा पनि एप्लिकेसनमार्फत केही प्रयत्न गरिएको जानकारी दिइएको छ ।

सिकाइ संस्कृति विकासका लागि बाल पत्रिका भन्ने मूल मर्मका साथ ‘बाल उदय’ मासिक बालपत्रिका प्रकाशनमा आएको थियो ।
बाल उदय अब विश्वको जुनसुकै कुनाबाट जतिसुकै बेला पढ्न सकिनेछ । त्यसका लागि बाल उदयको मोबाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । एप्लिेकेसन गुगल प्लेस्टोर र एपस्टोर दुवैबाट डाउनलोड गर्न मिल्नेछ ।

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>